काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन मङ्सिर १५ गतेदेखि हुने भए तापनि भलिबल खेल भने मङ्सिर ११ गतेदेखि सुरु हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेपको कर्भडहलमा हुनेछ । यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागमा विभिन्न २६ खेलमा प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
आर्चरी, जुडो, क्रिकेट, फुटबल, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिन, फेन्सिङ, ह्याण्डबल, स्क्वास, गल्फ, उसु, तेक्वान्दो, टेनिस, सुटिङ, खोखो, पौडी र टेबल टेनिसमा पदक जित्न खेलाडीहरु मैदानमा उत्रने छन् । त्यसैगरी एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, भारोत्तलन, कुस्ती र ट्रायथोलन रहेका छन् । नेपालले यी सबै खेलमा सहभागिता जनाउनेछ । यसअघि २७ खेलमा सहभागिता जनाउने भनिए तापनि प्याराग्लाइडिङ खेल सागमा समावेश नभएपछि २६ खेलको टुङ्गो लागेको हो ।
सागको नियमानुसार प्रतियोगिता सञ्चालनका लागि कम्तीमा तीन राष्ट्रले भाग लिनुपर्ने हुन्छ, तर नेपाल र पाकिस्तानबाहेक अन्य राष्ट्रबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ खेल नहुने निश्चित भएको हो । साग अन्तर्गका खेल पोखरामा आठ, जनकपुरमा एक र काठमाडौँमा २१ खेल हुनेछ । आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्याण्डबल, ट्रायथोलन, भलिबल र भारोत्तलन गरी आठ खेल पोखरामा हुनेछ भने कुस्ती खेल जनकपुरमा हुनेछ । बाँकी सबै खेल काठमाडौँमा हुनेछ ।
