एजेन्सी । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्याक्ति बनेका छन् । ६४ वर्षका गेट्सको सम्पती १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब छ । ब्लुमवर्ग पत्रिकाले प्रकाशन गरेको सर्वेक्षणअनुसार सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्याक्ति बनेको हुन् ।
सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए । तर, अहिले भने उनी दोस्रो नम्बरमा परेका छन् । उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर वा १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको ब्लुम्बर्गले जनाएको छ ।
यस्तै, धनीको तेस्रो नम्बरमा फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट परेका छन् । उनको सम्पती १ सय ३ अर्ब अमेरिकी डलर छ । ८६ अर्बसहित चौथो स्थानमा वारेन वफे छन् भने फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५.५ अर्ब डलर सहित पाँचौ स्थानमा पुगेका छन् । माइक्रोसफ्टको शेयर पछिल्लो समय बढेकाले गेट्सलाई फाइदा पुगेको हो ।
अमेरिकी रक्षा विभागले गत अक्टोबर २५ मा १० अर्ब डलरको क्लाउड कम्प्यूटिङ कन्ट्याक दिने घोषणा गरेको थियो । त्यसपछि माइक्रोसफ्टको शेयर ४ प्रतिशतले बढिसकेको छ । सोही समयमा अमेजनको शेयर भने २ प्रतिशतले घटेको छ। यो वर्षमात्रै माइक्रोसफ्टको शेयर ४८ प्रतिशतले बढेको बताइएको छ ।
बेजोस दोस्रो नम्बरमा हुनुको कारण श्रीमतिसँगको सम्बन्ध विच्छेद पनि हो । गत अप्रिलमा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । त्यतिबेला उनले आफ्नो सम्पतीको २५ प्रतिशत श्रीमतिलाई दिनुपरेको थियो । यसबाट उनले ३५ अर्ब डलर गुमाए । यदी उनले पैसा नगुमाएको भए १ सय ४४ अर्ब डलर हुने थियो ।
उता बिल गेट्सले भने सन् १९९४ देखि बिल एन्ड मिडिला गेट्स फाउन्डेशन मार्फत दान गर्दै आएका छन् । अहिलेसम्म उनीहरुले ३५ अर्ब डलर भन्दा बढी दान गरिसकेका छन् । यदी दान दिएको रकम जोड्ने हो भने उनको सम्पती १ सय ४५ अर्ब अमेरिकी डलर थियो ।
